प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नजिकबाट चिन्नुहोस्


 


ध्रुव सुवेदी
विराटनगर, फागुन २
प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एंव एमाले प्रदेश नं १ संसदीय दलका नेता शेरधन राई बुधबार नियुक्त भएका छन् ।

राईलाई प्रदेश न. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले नियुक्त गरेका हुन् । नियुक्तिको पत्र राईले बुधबार नै बुझेका छन् । सपथ भने राईले बिहिबार लिने भएका छन् ।

सथप लिएसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा राई जुटेका छन् । माघ २६ गते पार्टी सचिव एंव प्रदेश नं १ का संयोजक भिम आचार्यलाई संसदीय दलको नेतामा पराजित गर्दे राई संसदीय दलको नेतामा चुनिएका थिए ।

राईले २६ मत प्राप्त गरेका थिए भने आचार्यले २४ मत ल्याए । प्रदेश नं १ मा एमालको एकल बहुमत रहेको छ । ९३ सदस्यीय प्रदेश सभामा एमालेको मात्र ५१ जना सांसद छन् ।

राजनीतिक जीवनमा शेरधनका उकाली—ओराली

२०२७ फागुन ११ मा भोजपुरको विकट थिदिंखा–५ पसल भन्ज्याङ्ग हालको आमचोक गाउँपालिका—३ मा बाबु जागिरमान राई र आमा राम्रीमाया राईबाट सामान्य परिवारमा जन्मिएका शेरधन राई उमेरको १७ बर्षदेखि नै राजनीतिमा लागेका व्यक्ति हुन् ।

०४४ बाट अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक जीवन शुरु गरेका राई एमालेको खम्बाका रुपमा परिचित छन् ।

अखिलको प्रा.क. बाट शुरु भएको उनको राजनीतिक यात्रामा जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, पूर्वाञ्चल संयोजकको कुशल भूमिका निर्वाह गरेको अखिल राजनीतिको अनुभव छ ।

राई ०४९/५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष भएका थिए । त्यस्तै ०५० सालमा अखिलको केन्द्रिय सदस्य भए भने ०५३ मा अनेरास्ववियुको केन्द्रिय सदस्य हुँदै पूर्वाञ्चल प्रमुख समेत भए ।

२०४७ सालमा एमाले पार्टीको संगठित सदस्यता लिएका राई यतिबेला एमालेको बैकल्पिक पोलिटब्युरो सदस्यको हैसियतमा छन् । ०४९ नेकपा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य भएका राई ०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य भएका थिए ।

त्यस्तै ०५४ मा जिल्ला कमिटीको उपसचिव रहदा पार्टी विभाजन पश्चात सचिव भए । ०५४ मा माले एमाले विभाजित हुँदा राई एमालेमा उपसचिव थिए ।

अधिकांश नेता कार्यकर्ता पार्टी विभाजनसँगै मालेमा जाँदा राई एमालेमै रहे । त्यसपछि बिचरा अवस्थामा रहेको एमाले भोजपुरको नेतृत्व सम्हाल्न पुगेका राईले ०७० बैशाखसम्म लगातार चार कार्यकाल जिल्ला पार्टीलाई कुशल नेतृत्व दिए ।

उनले लगातार चार कार्यकाल (०५४–०७०) एमाले भोजपुरको प्रमुख भएर नेतृत्व गरे । शेरधन ०७० वैशाख २७ गते एमाले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित भए भने २०७१ भएको एमालेको नवौंं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भए ।

हाल राई एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य छन् भने प्रदेश नं १ को सह– संयोजकको भूमिकामा समेत छन् ।४७ बर्षिय राई अबिबाहित हुन भने पार्टी सदस्यता लिए यताका पुरै बर्षहरुमा उनले राजनीतिमै जीवन समर्पण गरेका छन् ।

एक दर्जन बढी देशको यात्रा गरेका राई राजनीतिलाई सेवाको रुपमा बुझ्छन् । समकालिन राजनीतिमा उनि इमान्दार, निष्ठावान् नेताको रुपमा स्थापित छन् ।

जतिबेला राजनीतिक जिवन नै दाउमा राखे…

संविधानसभा विघटनसँगै एकल पहिचानको विषयलाई लिएर अशोक राईहरु २०६९ मा बाहिरिन लाग्दा उनले त्यो कदमलाई रोक्न हरदम प्रयास गरे ।

कतिपसम्म भने त्यतिबेला २४ जिल्लामा एमालेका जनजाती जिल्ला पार्टी अध्यक्षहरुको नेतृत्व गरेर अशोक राईहरुसँग पटक—पटक संवाद बढाए ।

उनको त्यो पहलकदमीले एमाले ठुलो क्षतिबाट जोगिन पुग्यो । यद्यपी अशोक राई लगायतका केही जनजाती नेताहरुले संघीय समाजवादी पार्टी गठन गरे ।

उनले त्यसबेला खेलेको सन्तुलित भूमिकाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चा पाएको थियो भने उक्त भूमिकाले राष्ट्रिय राजनीतिमा ठुलो तरंग पैदा गरेको थियो ।

एकल जातीय पहिचानको मुद्धा छ्यापछ्याप्ती भएको त्यो बेला शेरधनले आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर बहुबहिचानको मुद्धा ओकालत गरेका थिए ।

अन्तत बहुपहिचानवाला मुद्धा बोकेर चुनाबमा गएका पुराना शक्ति कांग्रेस एमाले नै ठुलो दलको हैसियतमा स्थापित भए । पार्टीलाई बचाउन ०५४ होस या ०६९ मा उनले खेलेको महत्वपूर्ण भूमिका आज पनि अविष्मरणीय छ ।

आफूलाई एमालेको सिपाही भन्न रुचाउने राई जब पार्टीमा विभाजन र संकट आइपर्छ तब सतिसाल झै उभिने गरेका छन् । उनले जिल्ला तथा केन्द्रिय पार्टी नेतृत्वमा गलत विचार र प्रवृत्तिका विरुद्ध जेहाद छेड्दै आएका छन् ।

भोजपुर जिल्लामा रहदा उनले साझा नेताको छवि बनाएका थिए । यतिबेला जिल्लाको राजनीति मियो बिनाको दाँइ बनिरहेका बेला उनको त्यो नेतृत्व र साझा छविको जिल्लाबासीले स्मरण गरिरहेका छन् ।

 

संसदीय राजनीतिमा शेरधनका १८ बर्ष

नेपालमा सामान्यतयाः १८ बर्षको उमेर भनेको नेपाली नागरिकता पाउने उमेर हो । हो, यति नै समय शेरधनले संसदीय राजनीतिमा बिताएका छन् ।

०५६ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा शेरधन पहिलो पटक चुनावी मैदानमा ओर्लिदै थिए । त्यो, त्यतिबेलाको समय हो, जतिबेला एमाले फुटेर माले बनेको थियो ।

शेरधन एमालेको सूर्यध्वजावाहक उम्मेदवार थिए, गाउँभरी टाउँकामा तारा चिन्हको फेटा बाँधेका मानिसहरु मात्रै भेटिन्थे । यस्तो चुनौतिपूर्ण अवस्थामा शेरधनले चुनाव जिते ।

त्यतिबेला ०५६ सालको आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ वाट १८४४७ मत प्राप्त गरी उनि विजयी भए । त्यतिबेला राई देशकै कान्छो सांसदको रुपमा निर्वाचित भएका थिए ।

करिब आठ बर्ष पछि ०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग राई पराजित भए । करिब चार बर्षपछि भएको दोस्रो संविधानसभाको निर्वाचनमा तिनै किराँतीलाई पराजित गर्दे राई विजयी भए ।

त्यतिबेला उनले ११ हजार ९२७ मत प्राप्त गरेका थिए । २०७० देखि शेरधनको राजनीतिक यात्राले उँकालो चड्ने क्रम तिब्र छ, जो अहिलेसम्म निरन्तर जारी छ ।

२०७० मा चुनाव जिते लगत्तै शेरधन २०७१ सालमा संसदको सुशासन तथा अनुगमन समितिको सभापति भए । पहिलो पटक गठन भएको यो संसदीय समितीको सभापति भएर शेरधनले निकै राम्रो छाप छाड्न सफल भए ।

त्यतिबेला देश लोकमानसिंह कार्कीको आतंकले भयवित भइरहँदा तिनै कार्कीलाई आफ्नो कार्यकक्षमा उभ्याएर स्पष्टिकरण शेरधनले सोध्ने हिम्मत गरेका थिए ।

राई २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री एंव सरकारको प्रवक्ता नियुक्त भए । करिब नौ महिना सञ्चार मन्त्री हुँदा शेरधन विवादरहित भएर बाहिरिए भने मिडिया र पत्रकारहरुको हितमा दिर्घकालिन काम गर्न सफल भए ।

२०७४ मंसिरमा १० गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा भोजपुर २ बाट २०३३४ मत प्राप्त गरी शेरधन निर्वाचित भए । शेरधनको यो मत भनेको कुल सदर मतको ७१.२३ प्रतिशत हो ।

प्रदेश नं १ मा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सांसद शेरधन नै हुन् भने देशभरमा बढी मत प्रतिशत ल्याएर निर्वाचित हुनेमा राई तेस्रो स्थानमा छन् ।

२०७४ माघ २६ गते नेकपा एमाले प्रदेश नं १ को एमाले संसदीय दलको नेतामा २६ मतले निर्वाचित भए । उनले पार्टी सचिव भिम आचार्यलार्य दुई मत अन्तरले पराजित गरेका हुन् ।

सिद्धान्त र नैतिकतामा सम्झौता नगर्ने राईलाई जिल्लावासीले चुनाव जिताएर पठाएदेखी नै मुख्यमन्त्रीका रुपमा हेरेका थिए । चुनावमा जनतासँग भोट माग्दा समेत मुख्यमन्त्री बन्ने लगभग कबोल नै उनले गरेका थिए ।

 

कमरेड निछाक

शेरधनले कमरेड निछाक उपनामबाट पनि पार्टी काम गरेका छन् । राईहरुको बान्तवा भाषामा निछाक शब्द भाई हो । यो उपनाबाट तीन बर्ष उनले पार्टी काम गरेका छन् ।

खासगरी ०४६ सालमा निरंकुश पञ्चायती व्यवस्था विरुद्धको ऐतिहासिक संयुक्त जनआन्दोलनमा अनेरास्ववियुको जिल्ला कमिटीे सदस्यको हैसियतमा रही निछाक  उपनामवाट उनले सक्रिय भुमिका खेलका थिए । यही उपनामा उनि तीन बर्ष भूमिगत राजनीतिमा सक्रिय भए ।

चर्चित भलिबल खेलाडी

साढे तीन दशक अघि आफ्ना मामाले भलिबल खेल्नका लागि मिकासा बल भान्जा शेरधन राईलाई किनिदिदा गाउँघरमा कम्ता चर्चा थिएन् ।

मामाले किनिदिएको मिकासा बल बोकेर पाखामा खेल्न निस्कदा उनका साथीभाइले वरिपरी घेरिसकेका हुन्थे ।

गाउँघरमा अहिले पनि मोजाको बल खेल्ने समय छँदा यतिबेला पनि नामी मानिने त्यो मिकासा बल देख्दा र खेल्न पाउँदा उनका साथीभाई दंग हुन्थे ।

त्यही मिकासा बलको आकर्षणबाट भलिबल खेल सुरु गरेका शेरधन उमेरको २०–२२ बर्ष हुँदा जिल्लाको भलिबल खेलमा नामुद खेलाडीको रुपमा परिचित बनिसकेका थिए ।

उनी १० बर्षको उमेरदेखि भलिवल खेल खेल्न शुरु गरेको बताउँछन् । राईले ०५१ सालसम्म सक्रिय भलिवल खेल खेलेको थिए ।

०४६ सालको तत्कालिन रजत जयन्ती कप प्रतियोगितामा जिल्लाको सर्वोकृष्ट खेलाडी समेत घोषित भए भने दर्जनौ क्षेत्रीय स्तरको प्रतियोगिताहरुमा पुरस्कृत भएका थिए ।

आखिर उनको जीवनले पनि नयाँ मोड लियो । उनि राजीतिमा लागे, राजनीतिमा लागेको पुग—नपुग तीन दशकपछि त्यो समयका चर्चित भलिबल खेलाडी शेरधन बुधबार प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

शेरधनका अबका एजेण्डा

१४ वटा जिल्ला समेटेर बनेको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई भइसकेका छन् । अबको उनको एकमात्र ध्यान विकास र समृद्धि हो ।

र, प्रदेश नं १ को कार्यकारी प्रमुख भएर अब शेरधन यही बाटोमा हिड्ने बताउँछन् । प्रदेश नं १ समृद्ध बनाउन शेरधनले कृषि, पर्यटन, जलस्रोतलाई विशेष महत्व दिएका छन् ।

साथै पूर्वाधार विकास र उत्तरी नाका सञ्चालनमा ध्यान दिने बताएका छन् । धेरै चुनौती र समस्याका चाङबीच प्रथम मुख्यमन्त्री बनेका शेरधनलाई अब काम गरेर देखाउँने बेला आएको छ ।

शेरधनले अब कस्तो काम गर्छन उनको अग्नि परीक्षा सुरु भइसकेको छ । उनको यो अग्नि परीक्षा प्रदेश नं १ का ४५ लाख बढी जनताले मात्र हैन सिंगो देशले नै हेर्न सुरु गरेको छ ।

किनकी शेरधनले धेरै इतिहास रचिसकेको छन्, अब इतिहास मात्र हैन भोलिको उनको राजनीतिक भविष्य पनि उनको काममै निर्भर छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्