साउदीमा १५ वर्ष हराएका टेकबहादुर घर फर्कँदै


 


काठमाडौं, फागुन २
साउदी अरेबियामा १५ वर्षसम्म हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी त्यसको दुई वर्षपछि परिवारको सम्पर्कमा आएनन् । १५ वर्षसम्म बेपत्ता बने ।

अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने तयारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

गुल्मीको तत्कालीन कल्लीकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको बताए । उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो ।

कसैलाई सम्पर्क गर्ने मौका दिइएन । १५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन । अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन् । श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन् । ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन । दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छिन् ।

मरुभूमिमा ७० वटा उँट चराउने जिम्मा लिएर उनी बसेका रहेछन् । मालिकले २० हजार रियाल मात्रै दिएर पठाएछ । उनलाई श्रम अदालतले कम्तीमा ७० हजार रियाल दिनुपर्ने निर्णय गरेको थियो ।

दूतावासका द्वितीय सचिव भरत खनाल पुनः हाथर अल वातेन गएर सबै हिसाब चुक्ता गरेर ल्याएका हुन् । यसमा साउदी सरकारले पनि सहयोग गरेको राजदूत सिंहले जानकारी दिए ।

राजदूत सिंहका अनुसार उनी खासै बोल्दैनन् । एकान्तमा बसेको हुनाले हुन सक्छ । उँटका विषयमा उनले विशेषज्ञता हासिल गरेका छन् । कसरी स्याहार गर्ने भन्ने विषयमा सबै जानकारी छ । तर, बाहिरका विषयमा अत्यन्तै कम मात्रै बोल्छन्, कम मात्रै जानकारी छ ।

घर जाने–नजाने भन्नेमा पनि त्यति मतलब गर्दैनन् । मालिकप्रति उनको खास लगाव रहेको राजदूत सिंह बताउँछन् । १५ वर्ष हराएका र १७ वर्षपछि नेपाल फर्कने तयारीमा रहेका कामदार मेरो घर गुल्मी जिल्लाको कल्लीकोट गाविस वडा नं ४ धाप आमडाँडा हो ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्