छात्राहरुलाई अज्ञात रोगले समातेपछि विद्यालय नै बन्द !


 


जाजरकोट, फागुन १

विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।
त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो ।

पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताउनुभयो ।

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । कक्षा ५ देखि माथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ । विद्यालयमा बिहान केही नहुने, जब अपराह्न १ बज्न शुरु हुन्छ अनि छात्राहरु कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ ।

विद्यालयमा यस्तो समस्या आउँदा धामी र डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या हल नभएपछि गाउँले तनावमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिनुभयो ।

छात्रासँगै शिक्षिकाहरु पनि भकाभक बिरामी भएर ढल्न थालेका छन् । बिरामी छात्रालाई विद्यालय नआउन सल्लाह दिइए पनि जबर्जस्ती आउने गरेको शिक्षकले बताएका छन् । रासस

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्