‘फड्को मार्न सक्ने’ प्रचण्डको अभिव्यक्तिपछि बालकोटमा भयो यस्तो निर्णय


 


काठमाडौं, माघ २९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

काठमाडौं फर्किएपछि एमाले अध्यक्ष ओलीसँग निर्णायक छलफल हुने भन्दै उनले छिटै एकता प्रक्रिया टुंगोमा पुग्ने संकेत गरे ।

एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्‍याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर चल्दै आएको ‘वान अन वान’ छलफल अल्झिएपछि एमाले नेताहरूले नयाँ मोडालिटीका आधारमा छलफललाई टुंगोमा पुर्‍याउने निष्कर्ष निकालेका हुन् ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले अहिले जुन किसिमबाट हिँडिरहेको छु, त्यसबाट देश र जनतालाई फाइदा नपुग्ने लाग्यो भने आफूले तत्काल फड्को मार्न सक्ने अभिव्यक्ति दिएपछि कतिपयले त्यसलाई एकता नहुने नकारात्मक अर्थमा टिप्पणी गरे ।

प्रचण्डले अभिव्यक्ति दिएको केही घन्टाकै फरकमा ओलीनिवास बालकोटमा एमाले शीर्ष नेताहरू छलफलमा जुटे । प्रचण्डको अभिव्यक्ति र ओलीको शीर्ष नेतासँगको परामर्श संयोग भए पनि एमाले नेताहरूले उनको पछिल्लो अभिव्यक्तिबारे पनि सामान्य छलफल मात्रै गरेनन्, एकताको नयाँ मोडालिटी प्रस्ताव गरेर निर्णायक मोड दिने निष्कर्ष नै निकाले ।

स्रोतका अनुसार एकीकृत पार्टीको नेतृत्वमा प्रचण्डलाई प्रमुख स्थान दिएर एकताको ‘स्पिरिट’लाई सम्मान गर्ने, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन गर्ने नयाँ मोडालिटी प्रस्ताव गरेर छलफललाई निष्कर्ष दिनुपर्ने सुझाब शीर्ष नेताहरूले ओलीलाई दिएका छन् ।

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्