जहाँ अझै दैनिक १४ घण्टा लोडसेडिङ हुन्छ


 


काठमाडौं, माघ २८
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटिसकेका दाबी गदैृ आएको भएपनि कर्णाली क्षेत्रमा अझै दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो बन्ने पुगेको छ । आजको नयाँ पत्रिकामा खबर छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् ।

त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् ।

कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छैनन् । कर्णाली विकास आयोगले गरेको एक अध्ययनअनुसार स्थानीय बासिन्दाको सक्रियतामा पाँचै जिल्लामा २।४ मेगावाट विद्युत् उत्पादन हुन्छ । यो क्षेत्र साना जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जामै निर्भर छ ।

त्यस्तै, सोलार बत्तीको उपयोग पनि प्रशस्त हुने गरेको अध्ययनले देखाएको छ । यस क्षेत्रको १० वर्षे विकास योजना बनाउन गरिएको अध्ययनमा लघु जलविद्युत् आयोजना नभएका क्षेत्रमा सोलार बत्ती प्रयोग भइरहेको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

यस क्षेत्रमा २÷४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् ।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्