प्रदेश नं ७ : सभामुखमा एमालेका अर्जुन थापा निर्वाचित


 


धनगढी, २७ माघ
प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ ।

शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव मुरारी महतले जानकारी दिनुभयो ।

सभामुखमा थापाको उम्मेदवारीको प्रस्तावकमा एमालेका सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा ९माओवादी केन्द्र०का सांसद् त्रिलोचन भट्ट रहनुभएको थियो । सभामुखमा थापाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।

यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ २८ गते दर्ता भएको प्रस्तावमाथि दाबी विरोध गर्ने र दर्ता भएको उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, र माघ २९ गते बस्ने प्रदेशसभाको बैठकमा दर्ता भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद थापालाई प्रदेश सभाको सभामुखमा उठाउने निर्णय गरेको थियो ।

एमाले र नेकपा माओवादी केन्द्र बीचको सहमतिअनुसार यो प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले लिनेछन् ।

संसदीय दलको नेताका आकांक्षी 

७ नंं प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेमा संसदीय दलको नेताका आकाँक्षीमा चारजना देखिएका छन् ।

एमाले कैलालीका अध्यक्ष एवं प्रदेशसभा सांसद दीर्घ सोडारी, बाजुराका प्रकाश शाह, डडेलधुराका पठानसिं बोहरा, कञ्चनपुरका तारालामा तामाङ संसदीय दलको नेताका लागि दौडधुपमा हुनुहुन्छ ।

माओवादी केन्द्रले भने प्रदेशको मुख्य मन्त्रीमा प्रस्ताव गरिएका डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि कैलालीबाट निर्वाचित डा रणबहादुर रावल, डडेलधुराबाट निर्वाचित कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्काको नाम चर्चामा छ ।

कूल ५३ सांसद रहेको यो प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्