जातीय विभेदले शिक्षक दम्पतीको जागिर नै खोसियो, घर जलाउँदै गाउँबाट लखेटियो


 


बैतडी, माघ २७
नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् ।

यसरी गरियो विस्थापित
राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे ।

किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए ।

केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् ।

फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् ।

त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग(यो ।

तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।

बिचल्लीमा राना परिवार
विस्थापित भएपछि राना परिवार बिचल्लीमा परेको छ । छोराछोरीको पढाइ छुटेको राजुले बताइन् । उनले भनिन्, ‘हिजो अरूका छोराछोरीलाई पढाउँथेँ, आज आफ्नै छोराछोरी पढाउन पाइरहेका छैन ।’

उनीहरूलाई नेपाल रेडक्रस सोसाइटी, बैतडीले भाँडाकुँडाको व्यवस्था गरेको छ । इन्सेक बैतडीले १० हजार रुपैयाँ दिएको थियो । मुद्दा लड्ने पैसासमेत नभएको करनले बताए ।

 

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्