संसदीय दलको नेतामा निर्वाचित भएपछि शेरधनले भने-भिम आचार्यप्रति मेरो उच्च सम्मान छ


 


विराटनगर, माघ २४
एमाले प्रदेश नं १ को संसदीय दलका नेता शेरधन राईले आफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका पार्टी सचिव भिम आचार्यप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि एमाले मोरङको पार्टी कायालयमा आयोजित कार्यक्रममा बोल्दै नेता शेरधन राईले भने भिम आचार्य मेरो आदरणिय नेता हो, उहाँ प्रति मेरो हिजोदेखि नै उच्च सम्मान थियो,आज पनि छ र भोलि पनि रहनेछ ।

उहाँ र म बीच संसदीय राजनीतिमा प्रजातान्त्रिक अभ्यास भएको हो, यसलाई कुनै अन्यथा लिनु हुँदैन, नेता राईले भने उहाँले मलाई पूर्ण साथ दिने विश्वास गरेको छु ।

एमाले प्रदेश नं १ को सह संयोजक रहेका राईले प्रदेश १ का संयोजक आचार्यलाई २ मतको अन्तरले पराजित गरेका हुन् । राईले २६ मत प्राप्त गरे भने आचार्यले २४ मत ल्याएका थिए ।

एक मत भने बदर भएको थियो । ९३ सांसद रहेको प्रदेश न १ मा एमालेका ५१ सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै शेरधन मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । फागुनको पहिलो साता शेरधन मुख्यमन्त्री बन्ने भएका हुन् ।

प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्