मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन


 


विराटनगर, माघ २६
प्रदेश १ को मुख्यमन्त्रीको टुंगो लगाउन आज संसदीय दलको नेता चयन गरिदैछ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट संसदीय दलको नेता टुंगो लगाइने भएको छ ।

सहमतीका लागि विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने एमालेले यसअघि नै निर्णय गरिसकेको छ ।

एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाएका छन् ।

एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना कम भएको नेताहरुले बताएका छन् । हिजो दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए ।

बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् ।

प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्