भारतीय प्रतिबन्धित नोट, तर यसरी हुन्छ कारोबार


 


काठमाडौं, माघ २५
चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे। प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद ग‍र्यो। ऋण तिर्न भारतमा बसोबास गर्ने आफन्तबाट मित्तलले पैसा सापट मागेका थिए।

राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा भारु साट्न जाँदा उनलाई ट्राफिक चोकबाट पक्राउ गरिएको थियो। प्रहरीसँगको बयानमा मित्तलले जग्गा कारोबारमा ऋण लागेका कारण आफन्तसँग सापटी लिएर रकम ल्याएको बताएका छन्।

मित्तल मात्र होइनन् पछिल्लो समय ठूला दरका भारतीय रुपैयाँसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। भारतमा मोदी सरकारले गत वर्ष कालो धन नियन्त्रण गर्न भन्दै पाँच सय र एक हजार दरका भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको थियो। आजको अन्नपूर्णमा खबर छ ।

नेपालमा भएका प्रतिबन्धित भारतीय रुपैयाँ साट्ने विषयमा आनकानी गर्दै आएको भारतले प्रतिबन्धपछि कारोबारका लागि भन्दै पाँच सय र दुई हजार रुपैयाँको नोट बजारमा ल्याएको छ। ती नोट नेपालमा भने प्रयोगमा ल्याउन पाइँदैन।

नेपाल उद्योग संघ मोरङका सभापति मुकेश उपाध्याय सीमा क्षेत्रमा भारतीय पाँच सय र दुई हजार रुपैयाँको कारोबार भएको बताउँछन्। उनले भने, ‘बाटोमा लिएर हिँड्न पनि डर छ। यी नोटमा कारोबार नगरी सीमा क्षेत्रमा व्यापार हुँदैन।’

राष्ट्र बैंकले २३ असार ०७४ मा परिपत्र गरी भारतीय बजारमा चलन चल्तीमा रहेका पाँच सय र दुई हजारका नोटको कारोबार नेपालमा गर्न नपाइने स्पष्ट पारेको छ। प्रहरीले ठूला दरका भारतीय नोटसहित सर्वसाधारण पक्राउ गर्न थालेपछि बैंकले यस्तो परिपत्र जारी गरेको हो।

प्रकाशित मिति: २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्