विद्यालयलाई माटो दान ! यस्तो छ धार्मिक कारण पनि


 


प्रयागराज जोशी/धनगढी, माघ २४
धनगढीस्थित ऐश्वर्य विद्या निकेतन विद्यालयको खेल मैदानमा पानी भरिने समस्या देखिपछि यहाँका स्थानीयले स्वस्फुर्त रुपमा माटो दान गर्न लागेका छन् ।

खेल मैदानमा माटो भरानका लागि विद्यालयले गत बर्षदेखि अभियान सञ्चालन गरेको थियो । माटो भरानमा सर्वसाधारण जनताले चाँसो दिएपनि विभिन्न स्थानीय निकायका संघ संस्थाहरुको ध्यान नगएको विद्यालय प्रशासनले जनाएको छ ।

गत बर्ष माटो भरानका लागि सहयोग गर्ने घोषणा गरेका कतिपय व्यक्तिले भने अझै पनि वास्ता नगरेको प्रशासनले जनाएको छ । खेल मैदानमा पानी पर्ने वित्तिकै मैदान भरिभराउ हुने समस्या भएपछि विद्यालयले सम्पूर्ण निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।

सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित विद्यालयमा आर्थिक समस्याका कारण खेल मैदानमा माटो भरान गर्ने कार्यलाई अगाडि बढाउन सकेको छैन् । विद्यालयको समस्याका लागि सबैले आ–आफ्नो तर्फबाट स–सनो परिमाणमा भएपनि सहयोग गरेको प्रशासनले जनाएको छ ।

मैदानमा माटो भरानका लागि कसैले नगद र कसैले माटो नै उपलब्ध गराएको विद्यालय प्रशासनले जानकारी दिएको छ । खेल मैदानमा पानी भरिने समस्या देखिएपछि पूर्व विद्यार्थी, कर्मचारी, समाजसेवी र राजनीतिकर्मीहरु जुटेका छन् ।

सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित एक मात्र विद्यालय ऐश्वर्यले यस क्षेत्रको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको अभिभावकहरुले बताएका छन ।

विद्यालयका आगँनमा नै पानी भरिने समस्याले विद्यार्थीहरु नै बढी समस्या पर्ने भएकाले यसका लागि सबै निकायले सहयोग गर्नुपर्ने धनगढी–२ सरस्ती नगरका अभिभावक धुव्र्रराज जोशीले बताउनुभयो । ‘खेल मैदानमा पानी भरिने समस्याले सबै भन्दा साना बच्चाहरु बढी समस्यामा पर्ने गरेका छन’ उहाँले भन्नुभयो–‘यसका लागि स्थानीय निकायहरुले पनि अघि सर्न आवश्यक भएको छ ।’

विद्यालयले गत बर्ष बार्षिकोत्सवका अवसरमा खेल मैदानमा माटो भरान कार्य घोषणा गरेपछि ७ लाख बढी रुपैयाँ बराबरको माटो खेल मैदानमा भरान गरे पनि त्यसले १० प्रतिशत मात्र पुगेको छ । अझै ५० लाख बराबरको माटो आवश्यक पर्ने विद्यालयका प्राचार्य धर्मदेव भट्टले जानकारी दिनुभयो ।

यस बर्षका विद्यालयको वार्षिकोत्सवमा पनि धेरै व्यक्तिले माटो दान गर्ने घोषणा गरेको उहाँले बताउनुभयो । हाल उहाँहरुले घोषणा गरेको माटो आउने क्रम जारी रहेको प्राचार्य भट्टले बताउनुभयो ।

स्थापनाकालदेखि नै सबैको सहयोगले विद्यालय सुदूरपश्चिमकै शैक्षिक धरोहरका रुपमा स्थापीत भएको प्राचार्य भट्ट बताउनुभयो । ‘विद्यालयको प्रमुख समस्याका रुपमा देखिएको खेल मैदानमा पानी भरिने समस्याबाट विद्यालय आजित भएको छ’ प्राचार्य भट्ट ले भन्नुभयो–‘यसमा सम्पूर्ण निकायको साथ सहयोग आवश्यक छ ।’ खेल मैदानमा पानी भरिने समस्याले गर्दा विद्यालयले खेलकुद गतिविधिहरु सञ्चालित गर्न सकेको छैन ।

सामुदायिक विद्यालयहरुमा राष्ट्र कै नमुना विद्यालय भएकोले धनगढी उप–महानगरपालिकाले गर्व गरी यस उपमहानगरपालिकाका १९ वटै वडा कार्यालयको ध्यान जानु जरुरी रहेको प्राचार्य भट्टले बताउनुभयो ।

हिन्दु धर्म ग्रन्थ अनुसार माटो दान गर्नले पुण्य प्राप्त हुने विश्वास रहेको छ । यसले गर्दा पनि धेरै जस्तो व्यक्तिहरु माटो दान गर्न उत्साहित हुने गरेको बुझिएको छ । हिन्दुग्रन्थ अनुसार विभिन्न १० दान मध्ये माटो पनि एक पर्दछ ।

विसं २०३३ सालमा स्थापना भएको विद्यालय हाल स्नातकोत्तर तहसम्म पढाई हुने गरेको छ । विद्यालयमापूर्व प्राथमिक तह देखि स्नातकोत्तर सम्म ३ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्