आज राष्ट्रियसभा निर्वाचन, ६ प्रदेशबाट ५२ उम्मेदवार मैदानमा


 


काठमाडौं, माघ २४
आज राष्ट्रियसभाको लागि निर्वाचन हुँदैछ । दुई नम्बर प्रदेशबाहेक अन्य प्रदेशहरुमा निर्वाचन हुन लागेको हो । दुई नम्बर प्रदेशमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि सबै तयारी पूरा भएको आयोगले जनाएको छ । ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भएकाले बाँकी ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो । ३२ सिटका लागि अब ५२ जना मैदानमा उत्रिएका छन् ।

हरेक प्रदेशबाट कम्तीमा ३ जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी तीन सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक प्रावधान छ ।

आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रदेश १ को विराटनगर, ३ को ललितपुरको पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रियसभा चुनाव नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा चुनावको अन्तिम नतिजा घोषणा हुन सकेको छैन । राष्ट्रियसभा चुनावको परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभा चुनावको परिणाम पर्सि २५ गते आइसक्ने र २६ गते यसको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने आयोगको लक्ष्य छ ।

प्रकाशित मिति: २४ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्