सांसदलाई डेरा पाउन मुस्किल, यस्तो छ अवस्था
सुर्खेत, माघ २३
पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन ।
यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको भूगोल र सामाजिक वातावरण नयाँ संसारजस्तो लागिरहेको छ । गाउँले परिवेशबाट संसद् भवनमा छिर्दा गर्वको अनुभूति भएको प्रतिक्रिया सांसद विकले दिनुभयो ।
“सांसदमा निर्वाचित भएपछि मात्र म माघ ६ गते पहिलो पटक सुर्खेत झरेँ, अहिले लोकप्रिय होटेलमा बसेकी छु । यहाँको बारेमा मलाई केही थाहा छैन । चिनेका साथीभाइलाई एउटा फ्ल्याट खोजिदिन भनेकी छु, पाइएको छैन ।” उहाँले भन्नुभयो, “साथीभाइको सहयोगमा बल्लतल्ल पाइएको तीन कोठाको भाडा रु २० हजार भनेपछि लिन गाह्रो भयो । ”
बढी पैसा तिरेर सुर्खेतमा झर्नुपर्दाको पीडा त छँदैछ, त्यसमा झन भाडामा बस्दा ढाड सेकिन्छ, जनप्रतिनिधि भइसकेपछि जनताका थुप्रै आशा छन् तर आशा पूरा गर्न बसाइँ व्यवस्थापन गर्न सकिएको छैन, अहिलेसम्म आफूसँग आउने पार्टी कार्यकर्ता र शुभचिन्तकलाई होटेलमा नै राख्दै आएको उहाँले गुनासो गर्नुभयो ।
त्यस्तै जाजरकोट प्रदेश (ख) बाट निर्वाचित नेकपा (एमाले)का सांसद करवीर शाही प्रदेशसभा भवन नजिको बस्ती इत्राम क्षेत्रमा कोठा भाडा खोज्न जानुभयो । त्यहाँ सबै घर भाडामा बस्ने मान्छेले भरिभराउ थिए ।
उहाँका लागि एकाध घरमा कोठा पाइए तर भाडा सोध्दा सोचेको भन्दा दोब्बर थियो । रु १० हजारसम्म अनुमान गरेको कोठाका लागि रु १८ देखि २६ हजार भाडा भनेको सुन्दा उहाँ केही नभनेर लुसुक्क फर्कनुभयो ।
“अहिले साथीभाइलाई कोठा खोज्न पठाएको छु र मैले पनि खोजिरहेको छु, मिल्दो भाडा र उपयुक्त कोठा पाइएको छैन”, सांसद शाहीले भन्नुभयो । संसद् भवन नजिक कोठा नपाएपछि केही समयका लागि होटेलमा बसिरहेको उहाँले बताउनुभयो ।
सुर्खेत अस्थायी राजधानी तोकिएपछि कोठा पाउन गाह्रो र भाडामा चरम महँगी भएको उहाँको भनाइ छ । कोठा नपाउँदा एक महिनामा तिर्ने भाडा होेटेलमा एक हप्तामै तिर्नु परेको उहाँको दुःखेसो थियो ।
यस्तै रुकुम प्रदेश (ख) का सांसद गोपाल शर्मा पनि अहिलेसम्म होटेलमै बस्नुहुुन्छ । उहाँले पनि संसद् भवन नजिकै कोठा खोजिरहनु भएको छ । राष्ट्रियसभाको निर्वाचनपछि मात्र बसाइँ व्यवस्थापन हुने सांसद शर्माको भनाइ छ ।
डोल्पा (ख) का प्रदेश सांसद बीरबहादुर शाही पनि होटेलबमै बास बसिरहनुभएको छ । राष्ट्रियसभाको चुनाव र संसद्को कामले गर्दा आफन्तको सहयोगमा कोठा खोजिरहेको उहाँले बताउनुभयो । चिसो मौसममा सुर्खेत झर्ने अधिकांश डोल्पाका जनतालाई सेवा दिइरहनुपर्दा र डेरा नहुँदा होटेल खर्च बढेको उहाँले बताउनुभयो ।
अस्थायी राजधानी तोकिनु पूर्व सुर्खेतमा सामान्य कोठा भाडादर भए पनि अहिले भने भाडादर ह्वात्तै बढेको सांसद शाहीले बताउनुभयो । जनप्रतिनिधिका हैसियतले उनीहरुको माग सम्बोधन गर्नैपर्ने भएकाले व्ययभार थेग्न कठिन हुने प्रदेश सांसदहरुको भनाइ छ ।
उहाँहरू चारजना मात्र होइन प्रदेश नं ६ का अधिकांश सांसद्को अवस्था उस्तै देखिन्छ । डेरा नपाउनेहरू कोही आफन्तकहाँ त कोही होटेलमा बस्दै आउनुभएको छ । तुलनात्मक रुपले काठमाडौँभन्दा सुर्खेतमा खाद्य वस्तुबाहेक अन्य चिजको मूल्य बढेको पाइन्छ । रासस
प्रकाशित मिति: २३ माघ २०७४, मंगलबार