प्रदेश नं १ मा एमाले संसदीय दलको चुनाव माघ २६ गते, तीन नेताबीच प्रतिस्पर्धा


 


मोरङ, २२ माघ
प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ ।

आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।

संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको हो ।

प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा शेरधन राई, जीवन घिमिरे र भिम आचार्यले दाबी गर्दै आएका छन् ।

यी तिन नेताबीच सहमतिको प्रयास सम्भव नभएपछि अन्ततः निर्वाचन नै हुने भएको हो । प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् ।

९३ सदस्य रहेको यो प्रदेशमा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । ३६ जना निर्वाचित र १५ जना समानुपातिक सांसद एमालेसँग छ ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्