प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक बस्दै, एक जनाले सपथ लिन अझै बाँकी


 


पोखरा, माघ २२
पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ ।

बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्नुहुने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ ।
त्यस्तै आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ । बैठक करिब एक घण्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताउनुभयो ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद हुनुहुन्छ । जसमध्ये नेकपा ९एमाले०का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद हुनुहुन्छ ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख)बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिनुभएको छैन । प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा चारजना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ ।

प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आउनुभएका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

संघीय व्यवस्थाअनुरुप प्रदेश नं ४ को पोखरामा हुन लागेको आजको प्रथम बैठकलाई निकै चासोका साथ हेरिएको छ । रासस

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्