राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?


 


काठमाडौं, माघ २२
यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतबार राति १२ बजेदेखि सुरु भएको छ ।
निर्वाचन आयोगले आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको जनाएको हो ।

आयोगकाअनुसार निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज र आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

मौन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमको प्रयोग गरेर मत आकर्षित गर्न पाउने छैनन् ।

आयोगले सञ्चार माध्यमलाई समेत समाचार सम्प्रेषणमा सचेत हुन अनुरोध गरेको छ । प्रत्यक्षतर्फ ५६ सदस्यका लागि उम्मेदवार मनोनयन भए पनि २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

अब बाँकी ३२ सिटका लागि बुधबार निर्वाचन हुँदैछ । राष्ट्रियसभाका लागि ३२ सिटमा ५२ जनाले प्रतिष्पर्धा गर्दैछन् । ५९ सदस्यीय रहने राष्ट्रियसभाका ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्