प्रदेश ७ को प्रदेशसभामा मालामतीले राखिन् फरक माग


 


काठमाडौं, माघ २१
प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग गरेकी छन् ।

टिकापुर घटनाका मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेका चौधरीलाई विजयीको प्रमाणपत्र दिन माग गरेकी हुन् ।

बैठकलाई सम्बोधन गर्न अन्तिममा पालो पाएकी रानाले जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्नका लागि पहल गर्न आग्रह गरिन् ।

उनले टीकापुर घटनाका क्रममा कफ्र्यू लागेको बेला पनि थारु समुदायका घर जलाउने र लुटपाट गर्नेहरुलाई जेल हाल्न माग गरिन् । उनले सबैका अधिकार नसमेटिएकाले संविधान संशोधन गर्नसमेत माग गरिन् ।

रानाथारु, आदिवासी समुदायका कतिपय मुद्दाहरु नसमेटिएको भन्दै उनले संविधान शंसोधन गरेर सर्वस्वीकार्य बनाईनु पर्ने धारणा राखिन् ।

प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो ऐतिहासिक बैठक सम्पन्न भएको छ । धनगढीस्थित जिल्ला समन्वय समितिको परिसरमा रहेको प्रदेश सभाको हलमा दिउ“सो साढे १ बजे सुरु भएको झण्डै दुई घण्टा सञ्चालन भएको हो ।

जेष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाहको अध्यक्षतामा भएको बैठकमा सुरुमा राष्ट्रिय गान त्यसपश्चात ज्ञात अज्ञात शहीदहरुलाई स्मरण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

जेष्ठ सदस्य शाहले प्रदेश प्रमुखबाट प्राप्त पढिसकेपछि दलको प्रतिनिधित्व गर्दै चार जना सांसदहरले पालैपालो सम्बोधन गरेका थिए ।

सांसदहरुले बोलिसकेपछि जेष्ठ सदस्य शाहले पेश गर्नुभएको अन्तरिम कार्यविधि सम्वन्धी प्रस्ताव पनि बैठकले पारित गरेको छ । अब अर्को बैठक माघ २९ गते बस्नेछ ।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्