हुण्डाईको ठगी प्रकरण, ग्राहकसँग यसरी असुलिन्छ पैसा


 


काठमाडौं, माघ २१
अन्तर्राष्ट्रिय अटोमोबाइल्स कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड आइटेनमा अत्यधिक मूल्य असुल्ने गरेको तथ्य फेला परेको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै ठगी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई आग्रह गरेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।

विभागका अनुसार सबै कागजपत्र तयार गरी थप अनुसन्धान र कारबाहीका निम्ति प्रहरीलाई निर्देशन दिएको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हुन्डाई कम्पनीका गाडी बिक्री गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टलले उपभोक्ताबाट अतिरिक्त शुल्क लिएको भेटिएको बताउनुभयो। उहाँले करिब एक महिनाअगाडि विभागले गरेको अनुगमनका क्रममा हुन्डाई गाडीको बिक्रीमा कैफियत भेटिएको बताउनुभयो ।

सबै प्रमाण संकलन र बयानको काम सकिएपछि प्रहरीलाई पत्रचार गर्न लागिएको छ । विभागले लक्ष्मी इन्टरकन्टिनेन्टलले इओन इरा गाडीको बिक्रीमा ५३ प्रतिशत र ग्रान्ड आइटेन म्याग्ना गाडीको मूल्यमा ४३ प्रतिशत कम्पनीलाई नाफा हुने गरी ग्राहकसँग पैसा असुल्ने गरेको फेला पारेको थियो।

नेपाली बजारमा निकै रुचाइएको इओन गाडीको मूल्य १२ लाख ४४ हजार रुपियाँ रहेकोमा विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले १८ लाख ९८ हजार रुपैयाँमा बेच्ने गरेको पाइएको छ।

त्यसैगरी ग्रान्ड आईटेन गाडीको मूल्य १८ लाख ८७ हजार रुपियाँ रहेकामा कम्पनीले २६ लाख ९६ हजार रुपियाँमा बेच्ने गरेको छ।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्