सातवटा प्रदेशमा को–को छन् सभामुखको दौडमा ?


 


काठमाडौं, माघ २१
मुख्यमन्त्री चयन हुन बाँकी रहँदै सभामुखको दौड पनि सुरु भएको छ । बामगठबन्धनबीच भागबण्डा भएपछि नेताहरु आफ्नो दलको भागमा परेको पद प्राप्त गर्नका लागि लागेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ ।

संसदीय दलको नेतामा पराजित भएका एकलाई सभामुख दिएर व्यवस्थापन गर्ने एमालेको तयारी छ । महिला अघि सार्दा उषाकला राईको सम्भावना छ ।

प्रदेश २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावना छ । त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ र प्रभावशाली नेता मनीष सुमन प्रतिस्पर्धामा छन् ।

सभामुख सेरेमोनियल पद भएको र सो पदका लागि नवलकिशोर परिपक्व भएको भन्दै राजपाले उनलाई नै अघि सार्ने सम्भावना छ ।

उनी सद्भावना पार्टीको पृष्ठभूमिबाट आएका हुन् । नवलकिशोरको विकल्पमा सद्भावनाकै पृष्ठभूमिका मनीषकुमार सुमनलाई अघि सार्ने तयारी छ ।

प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ । एमालेबाट सभामुखमा पुरुषको दाबी देखिएकाले माओवादीबाट महिला उपसभामुख हुने सम्भावना छ । एमालेबाट सभामुखका लागि डोरमणि पौडेलले इच्छा देखाएका छन् ।

उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । मुख्यमन्त्रीमा दबी गरेर सभामुख बन्ने पौडेलको भित्री रणनीति छ । अहिले पनि पौडेलले ज्येष्ठ सदस्यका आधारमा सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।

प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना धेरै छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादी केन्द्रले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ ।

सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ । पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा र गोरखाका लेखबहादुर थापामगरलगायत दाबेदार भए पनि बाहिर इच्छा व्यक्त गरेका छैनन् ।

प्रदेश ५ मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । गुल्मी १ ९क० बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन् । घर्ती माओवादीको प्रदेश ५ का संयोजक हुन् ।

खस–आर्य समुदायबाट पोखरेल मुख्यमन्त्री भएपछि जातीय सन्तुलन मिलाउन पनि अर्को समुदायका नेतालाई सभामुख बनाउन माओवादीभित्रै दबाब छ ।

यस्तोमा घर्ती र बराल मुख्य दाबेदार देखिएको माओवादी स्रोत बताउँछ । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुख वा मन्त्रीका लागि दाबी गरेका छन्।

प्रदेश ६ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएपछि प्रदेश ६ मा एमालेले सभामुख पाउँदै छ । तर, एमालेको आन्तरिक विवादका कारण सभामुखको टुंगो लागेको छैन ।

प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एक सभामुखका हुने सम्भावना छ । एमाले नेताहरूका अनुसार ज्वाला सभामुखमा जाने मनस्थितिमा छन् । उनी सभामुख भए कँडेल संसदीय दलको नेता हुनेछन् ।

प्रदेश ७ मा वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् ।

डोटीबाट निर्वाचित पूर्णा जोशी, डडेल्धुराबाट निर्वाचित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वाचित अर्जुन थापा सभामुख बन्ने दौडमा छन् । यीमध्ये तामाङ र थापाको सम्भावना बलियो रहेको एक एमाले नेताले बताए ।

प्रकाशित मिति: २१ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्