प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक भोलि, यस्तो छ तयारी


 


धनगढी, माघ २०
प्रदेश नम्बर ७ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्दैछ । देश संघीयतामा गइसकेपछि पहिलो पटक हुन लागेको ऐतिहासिक बैठकका लागि सबै तयारी पूरा भएको छ ।

बैठक दिउँसो १ बजे प्रदेशसभा हल बनाइएको जिल्ला समन्वय समितिको हलमा बस्ने छ । प्रदेशसभाले सभामुख, उपसभामुख चयन गरि नसकेकोले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले गर्नुहुनेछ ।

सभामुख र उपसभामुख चयन हुनुअघि बैठक सञ्चालनका लागि पाँच सदस्यी समिति गठन गरिने संसद सचिवालयले जनाएको छ । बैठकको अध्यक्षता गर्नुहुने शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ । दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।

बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ । यति गरेपछि विहीबार बैठक समाप्त हुने संघीय संसद सचिवालयका सह–सचिव मुरारी महतले बताउनुभयो ।

पहिलो पटक प्रदेशसभा बैठक हुने भएकाले चूनौति भएपनि शान्तिपूर्ण तरिकाले बैठक सम्पन्न गर्ने प्रदेश सचिवालयले बताएको छ । बैठकको सुरक्षार्थमा खटिएका मर्यादापालकको पोषाक दौरासुरुवाल हुनेछ ।

प्रदेश सदस्यले भने बैठकले नियमावली बनाएपछि मात्रै कस्तो पोषाक लगाउने भन्ने निक्र्योल गर्ने सह–सचिव महतले बताउनुभयो ।
प्रदेशसभा बैठक जेष्ठ सांसद सदस्यको अध्यक्षता हुनेछ ।

प्रदेश ७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्ला समेटिएका छन् । ५३ सदस्यीय प्रदेश संसदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित मिति: २० माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्