ओली–मोदी शिखर वार्ताको तयारी, के चाहन्छ भारत ?
काठमाडौं, माघ २०
नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो ।
ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो । आजको अन्नपूर्णमा खबर छ ।
भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो ।
भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन–जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’
के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’
घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ ।
बैठकको दौरान नेता ओलीले स्पष्ट शब्दमा भारतीय विदेशमन्त्रीलाई भने ‘कुनै पनि राष्ट्रवादी नेपाली भारतविरोधी हुन सक्दैन । तर, अब सम्बन्धको विकास आपसी सम्मान र सद्भावबाट मात्र हुन सक्छ ।’
प्रत्युत्तरमा भारतीय पक्षले भन्यो, ‘नयाँ सुरुवातका निम्ति भारत तयार छ । सहयोग, सद्भाव र विश्वासको नयाँ युग सुरुवात गर्न हामी तयार छौं । साथै, नेपालसँग भारतको सिमाना र सम्बन्ध, कुनै अन्य देशसँग तुलना गर्ने प्रकृतिको नभएकाले हाम्रा जायज चिन्ताप्रति संवेदनशील रहन नेपाली मित्रहरूलाई हामी आग्रह गर्छौं ।’
भारतीय विदेशमन्त्रीको अर्को महत्वपूर्ण भेटघाट शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग रह्यो । प्रचण्ड र भारतबीच विभिन्न कालखण्डमा लभ–हेट रिलेसनसिप रहँदै आएकोमा, अब दुवै पक्ष उतारचढावको ‘रोलर कोस्टर’ सम्बन्धमा बढी परिपक्वताको सम्भावना खोजिरहेको संकेत उच्च कूटनीतिक सूत्रहरूले गरेका छन् ।
कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेट गर्दै विदेशमन्त्री स्वराजले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइन् । भ्रमणको दौरान मन्त्री स्वराजले मधेसवादी दलका नेताहरूसित सोल्टी होटलमा भेट गरिन् । राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटका निम्ति उनी शीतल निवास पुगिन् ।
भारतीय विदेशमन्त्रीको यो आवागमनले आमनिर्वाचनपछि, जनादेशअनुरूप भारतको नेपाल नीतिमा आउने परिवर्तनको बिजारोपण गरेको छ । यो भ्रमणले ओली–मोदी शिखरवार्ताको पृष्ठभूमि तयार गरेको छ । स्वराजको भ्रमण नेपाल–भारतबीच बदलिँदो कूटनीतिक मौसमको परिचायक हो ।
प्रकाशित मिति: २० माघ २०७४, शनिबार