७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा भट्टको नाम सिफारिस


 



काठमाडौं, माघ १९
७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओबादी केन्द्रले त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ ।

बाम गठबन्धनको तर्फबाट प्रदेश नं. ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएपछि माओवादी केन्द्रले पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद भट्टको नाम मुख्यमन्त्रीका लागि सिफारिस गरेको हो ।

पार्टी प्रदेश कमिटी सचिवालयकाअनुसार पार्टीमा भट्टको नाममा सहमति भएको छ । यसको औपचारिक निर्णय हुन भने बाँकी रहेको छ । मुख्यमन्त्री पदका लागि पार्टीभित्र वीरमान चौधरी, झपट बोहरा र मानवहादुर धामीको नाम चर्चामा रहेको थियो ।

सरकारले प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि पहाड र तराईको सन्तुलन मिलाउने गरी पहाडलाई मुख्यमन्त्री दिने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बुझिएको छ ।

मुख्यमन्त्रीमा सिफारिस भएका भट्टले आफ्नो पक्षमा सहमति जुट्ने सम्भावना भएपनि पार्टीबाट आधिकारिक जानकारी नभएको बताएका छन् । उनले आफ्नो योगदान र इमान्दारितालाई पार्टीले मुल्यांकन गर्ने र मुख्यमन्त्रीमा सिफारिस गर्ने विश्वास व्यक्त गरे ।

 

 

 

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्