मोदीको सन्देश बोकेर स्वराज आज नेपाल आउँदै, सम्बन्ध सुधारको प्रयास


 


काठमाडौ, माघ १८
भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउँदैछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर उनी नेपाल आउन लागेकी हुन् ।

औपचारिक घोषणा नगरिएपनि उनी प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा नेपाल भ्रमणमा निस्किन लागेकी कूटनीतिक स्रोतले जनाएको छ ।

अपराह्न साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् ।

पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्वद्ध थिंकट्यांक आइडीएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए ।

विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिनुपर्ने पनि उनको भनाई छ ।

स्वराजले विहीवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिलासम्बन्धी सल्लाहार डा। दिनेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँग भेटवार्तापछि शीतलनिवास गएर स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वराजको भ्रमणबारे भारतीय प्रधानमन्त्री मोदीले ७ माघमा टेलिफोन वार्ताका क्रममा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: १८ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्