आज चन्द्रग्रहण लाग्दै, कुन राशीलाई शुभ, अशुभ ?


 


काठमाडौं, माघ १७
आज १ सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ ।

बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिने पनि उहाँले जानकारी दिनुभयो । ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि अन्न नखानु राम्रो हुने उहाँको भनाई छ ।

‘बालक, बृद्ध, गर्भवती, सुत्केरीबाहेक अरु सक्नेहरुले बिहान ८ बजेर ५५ मिनेटदेखि बेलुकी ८ बजेर ५७ मिनेटसम्म अन्न नखाँदा राम्रो हुन्छ’ उहाँले भन्नुभयो, ‘अन्नको सट्टा फलफूल, पानी खान सकिन्छ ।’

ग्रहण लागेको बेला त्यसको विकिरणले स्वास्थ्यमा असर गर्ने भएकाले नांगो आँखाले नहेर्न र सावधानी अपनाउन वैज्ञानिकहरुले पनि आग्रह गरेका छन् ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

धर्ममा विश्वास गर्नुहुन्छ भने साझ लाग्ने खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिभएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्नहुने बताईएको छ भने मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ ।

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्