फेरि कञ्चनपुरमा एसएसबीको हस्तक्षप, बाटो फराकिलो गर्न अवरोध


 



कञ्चनपुर, माघ १७
कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एकजनाको मृत्यु भएको कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले सडक फराकिलो बनाउँदा अवरोध गरेको छ ।

बेलौरी नगरपालिका–१० सडकघाटमा एसएसबीले अवरोध गरेको वडाअध्यक्ष हरिलाल चौधरीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
नगरपालिकाको सडक फराकिलो बनाउने योजनाअन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

वडाध्यक्ष चौधरीका अनुसार चालू आर्थिक वर्षमा दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाउन आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, यस क्षेत्रमा नेपाल–भारतको सीमा यकिन नभएको भन्दै एसएसबीले सडक फराकिलो बनाउन रोकेको हो ।

सडकघाटदेखि सीमा क्षेत्र जोड्ने यो सडक निर्माणमा अवरोध भएपछि दुवै देशका सीमा क्षेत्रका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ ।

यसैबीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सडक निर्माणमा आएको समस्या समाधान गर्न पहल भइरहेको बताए ।

 

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्