एमाले स्थायी कमिटीले गर्यो यस्तो निर्णय, प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा पोखरेल निश्चित


 


काठमाडौं, माघ १६
प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता शंकर पोखरेल बन्ने निश्चित भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

पोखरेललाई एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले यसअघि नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चुनिसकेको छ । तर, १, ३, ४ र ५ भने संसदीय दलको नेता चुनिसकेको अवस्था छैन ।

एमालेको भागमा मुख्यमन्त्रीका लागि प्रदेश नम्बर १,३, ४ र ५ परेको छ । ६ र ७ नम्बर प्रदेशमा माओबादीले मुख्यमन्त्री पाउनेछ । मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा यस्तो सहमति यसअघि नै भएको थियो । प्रदेश नम्बर ५ मा जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ ।


आकांक्षी धेरै हुँदा ५ नम्बर प्रदेशमा बाहेक अरु प्रदेशमा कसको नेतृत्व हुने भन्नेमा टुंगो लाग्न सकेको छैन । प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको सरकार बन्ने निश्चित छ । बाँकी प्रदेशमा भने बामगठबन्धनको नै सरकार बन्ने छ ।

तर प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुई जना आकांक्षी रहेका छन् । नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छन् ।

यसैगरी प्रदेश नम्बर तीनबाटअष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् ।

प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् । यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् । यहाँ अन्य आकांक्षीहरु पनि देखिन थालेका छन् ।

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्