नक्कली डाक्टर अधिकांश चिनिया, सञ्चालक पनि नक्कली


 


काठमाडौं, माघ १६
प्रहरीले पक्राउ गरेको नक्कली डाक्टरमध्ये अधिकांश चिनिया रहेको पाइएको छ ।

प्रहरीले चिकित्सा सम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको छ । आजको अन्नपूर्णमा खबर छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले उनीहरूलाई विभिन्न अस्पतालमा बिरामीको उपचार गरिरहेका बेला पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ठमेलस्थित अपोलो अस्पतालका ८ जना चिकित्सक रहेको काउन्सिल स्रोतले बतायो । पक्राउ सबै चिनियाँ नागरिक हुन् ।

प्रहरीले बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टर, कपुरधारास्थित सिविक अस्पताललगायत अस्पतालबाट आधा दर्जन नक्कली चिकित्सक पक्राउ गरेको छ ।

नक्कली चिकित्सकले झुक्याएर उपचार गरेको प्रहरीको दाबी छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाको नाम सार्वजनिक गर्ने जनाएको छ । नक्कली चिकित्सकले उपचार गरी ठगेको उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेको थियो ।

नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले मुलुकी ऐनअन्तर्गत ठगी अभियोगमा थप अनुसन्धान गर्ने तयारी गरेको छ ।

सीआईबीका डीआईजी पुष्कर कार्कीले काउन्सिलमा दर्ता नभई बिरामी उपचार र अस्पताल सञ्चालन गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्