चुडामणिमाथि अर्को मुद्दा, पत्नी कल्पना पनि तानिइन्


 


काठमाडौं, माघ १६
कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।

शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अन्नपूर्णमा खबर छ ।

अकुत मुद्दामा शर्मालाई फरार देखाइएको छ । अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल अचल सम्पत्ति जाँच गरिएको जनाएको छ ।

६ महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर अवैध सम्पत्ति आर्जनको दाबी गरेको छ । निजामती सेवाको जाँच अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको छ ।

अनुसन्धानबाट उक्त अवधिमा चल अचल सम्पत्ति सिर्जना एवं सेयर लगानीलगायत शीर्षकहरूमा समेत गरी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको देखिएको छ । यसरी वैध आयको तुलनामा ४ करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको हो ।

गैरकानुनी रूपमा आर्जन गरी स्रोत पुष्टि हुन नसकेको सम्पत्ति निजको श्रीमती कल्पना उपे्रती शर्माको नाममा समेत लुकाएको भन्दै उनका नामका अवैध सम्पत्ति जफत गर्न अदालतसमक्ष अख्तियारको माग छ ।

प्रकाशित मिति: १६ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्