नयाँ मान्यताका आधारमा छिमेकीसँग सुमधुर सम्बन्ध : अध्यक्ष ओली


 


काठमाडौँ, माघ १५
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गर्नुभयो ।

“अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्छ । अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्छ । नेपालमा विकास नुहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्छ ।”

अध्यक्ष ओलीले भन्नुभयो, “सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँनयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।”

उहाँले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका सच्याउने पुनः दोहोर्याउनुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएको बताउनुभयो ।

 

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्