बैंकिङ कसुरमा झण्डै ६ करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ


 


चितवन, माघ १५

बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिनुभयो ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो ।

त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो ।
रासस

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्