भारतमा विवादित कार नेपालमा महंगो मूल्यमा विक्री हुँदै


 


काठमाडौ, माघ १५
भारतमा पटक–पटक विवादमा पर्दै आएको रेनल्ट कम्पनीको क्विड कार नेपालमा भने आधिकारिक विक्रेताले अधिक नाफा राखेर मूल्य निर्धारण गरी बिक्री–वितरण गरेको पाइएको छ।

आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा रेनल्ट कार बजार मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गर्दै आएको पाइएको हो। नेपाल समाचारपत्रमा खबर छ ।

नेपालका लागि रेनल्टको आधिकारिक विक्रेता एड्भान्स्ड अटोमोबाइल्सले अनावश्यक विषयमा खर्च भएको बिलबिजक देखाई उपभोक्तालाई ठगी गर्दै आएको भेटिएको हो।

लागतभन्दा अधिक मूल्यमा सवारी बिक्री गरेको सूचनाको आधारमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा विभागले थापाथलीस्थित ‘एड्भान्स्ड अटोमोबाइल्स’ मा छापा मारेको थियो।

अधिक मूल्यका सूचनाका आधारमा उपभोक्ता हित संरक्षण विभागले शाखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्व तथा सञ्चारकर्मीको उपस्थितिमा विभागका टोलीले अनुगमन गरेको हो।

अनुगमनमा आएका विभागका अधिकारीलाई कम्पनीको कर्मचारीले असहयोग गुर्नका साथै माग गरिएको कागजपत्र उपलब्ध गराउन आनाकानी गर्दै ३ घण्टा कुराएका थिए।

अनुगमनका क्रममा कम्पनीले भारतबाट ३ लाख १९ हजार ८ सय ९७ भारतीय रुपियाँमा खरिद गरेको क्विड आरएक्सटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २ सय ९० रुपियाँमा बेचेको पाइएको छ।

त्यस्तै, डस्टर आरएक्सई पेट्रोल गाडी ५ लाख १ हजार ४७ भारतीय रुपियाँमा खरिद गरी ३५ लाख ५८ हजार ७ सय रुपियाँमा बिक्री वितरण गर्दै आएको फेला परेको विभागले जनाएको छ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्