महोत्सवका कारण प्रदेशसभाको बैठकस्थल नै सर्यो


 


सुर्खेत, माघ १५

प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ ।

जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ ।

“जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा महोत्सवको आयोजना गरिएकाले प्रदेश सभाको बैठक सिँचाइ डिभिजनको सभाहलमा गर्ने निर्णय गरेका हौँ”, प्रदेश प्रमुख दुर्गाकेशर खनालले भन्नुभयो, “सोही अनुसारको तयारी भइरहेको छ ।”

प्रदेश सचिव भरत ढुंगानाका अनुसार सिँचाइको हलमा ८० जना अट्ने क्षमता छ । “हिजैदेखि सभाहलको रंगरोगन र सजावटको काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “२० गतेभित्र यहाँको सबै तयारी पूरा गर्छौं ।”

प्रदेश सभाका लागि शैक्षिक तालीम केन्द्रको अडिटोरियम हल तय गरिएको छ । शैक्षिक तालिम केन्द्रको हल मर्मत भइराखेकाले कम्तीमा तीन महिनाका लागि प्रदेश सभाको बैठक सिँचाइको सभाहलमा बस्नेछ । रासस

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्