प्रादेशिक राजधानी धनकुटा बनाउन पहल गरिने


 


काठमाडौ, माघ १४
विभिन्न दलका नेता तथा प्रदेश सदस्यले प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आज आयोजना गरेको कार्यक्रममा उहाँहरूले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन आआफ्नातर्फबाट सहजीकरण र सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले सबै किसिमले उपयुक्त रहेको धनकुटालाई प्रदेश नं १ राजधानी बनाउन कुनै कसूर बाँकी नराखी सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनकुटा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाइने आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरूले आन्दोलन भइरहेको क्षेत्र धनकुटामै वार्ता गर्नुपर्ने, त्यहाँको भौतिक संरचनाबारे अध्ययन गर्न प्रतिनिधिमण्डल पुनः पठाउनुपर्ने, आन्दोलनबाट भएको क्षति सरकारले व्यहोनुपर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता गीता खेवा लिम्बूलगायतले धनकुटालाई स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्