शेरधन भन्छन्–’मुख्यमन्त्रीको प्रक्रियामा जान तयार छु’


 


विराटनगर, माघ १४
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि प्रक्रियामा जान तयार रहेको उद्धघोष गरेका छन् ।

विराटनगरमा आइतबार संचारकर्मीसंग कुराकानी गर्दै राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदी प्रदेशमै प्रक्रियाबाट संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने हो भने पनि आफू पछि नहट्ने बताए ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जितेका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको चर्चा गरे । उनले आफूले विगतमा राजकिय जिम्मेवारी राम्रोसंग पूरा गरेको दावी गर्दै आएका छन् ।

पत्रकारहरुसंग माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदीय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने बताए ।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्ने प्रावधान भएकाले पनि मुख्यमन्त्री हुनु अघि संसदीय दलको नेता हुनु पर्छ ।

प्रदेश नम्बर १ मा पार्टीका सचिव भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आएका छन् । यसैबीच एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि प्रदेशको मुख्य मन्त्रीको दावी गर्दै लविङ सुरु गरेका छन् ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्