६ र ७ नम्बरमा नेतृत्वको लफडा, सिंगो गठबन्धन र पार्टीभित्रै यस्तो


 


काठमाडौं, माघ १४
६ र ७ नम्बर दुई प्रदेशमा मुख्यमन्त्रीका विषयमा एमाले र माओवादीभित्र धेरै विवाद देखिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभामा शतप्रतिशत जितसहित एकलौटी सरकार बन्ने स्थिति रहेको भन्दै एमालेले मुख्यमन्त्री छाड्न मानिरहेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

माओवादी केन्द्रले आफ्नो प्रभाव क्षेत्र रहेकाले ६०–४० को अनुपातमा भागबन्डा हुँदा छाड्न नसकिने भन्दै प्रतिष्ठाको विषय बनाएको छ । एमालेले नेतृत्वमा दाबी गरिरहे पनि पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र प्रदेशका सहसंयोजक यमलाल कँडेलबीच कसले नेतृत्व लिने विषयमा विवाद छ ।

ज्वालाले आफू सिनियर भएकाले स्वतः नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् भने कँडेलले प्रदेशको नेतृत्व गरिरहेकाले आफूले पाउनुपर्ने बताइरहेका छन् ।

माओवादीमा पनि पोलिटब्युरो सदस्य महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबेदार छन् । शाहीलाई संसदीय दलको नेताका लागि नेतृत्वले अघि सारेकाले मुख्यमन्त्री नछाड्ने घोषणा गरिसकेका छन् ।

प्रदेश ७ मा एमालेले दाबी नगरे पनि माओवादी केन्द्रका नेताद्वय वीरमान चौधरी र झपट बोहरा नेतृत्वका आकांक्षी छन् ।

चौधरीले आफू सिनियर रहेको र थारू जनसंख्यालाई ध्यान दिएर नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । बोहराले प्रदेशको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी उपयुक्त रहेको बताइरहेका छन् ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्