मुख्यमन्त्रीका लागि रस्साकस्सी, दाबेदार थपिदै


 


काठमाडौं, माघ १४
मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन् । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ ।

संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन् । यसअघि चर्चाका रहेका नाममा पनि थप नेताहरुका नाम पन मुख्यमन्त्रीका लागि चर्चामा आउन थालेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन् । संविधानमा प्रदेश सभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् ।

यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन । प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् ।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन् ।

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् ।

प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।

प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् । माओबादी केन्द्रकै अर्का पोलिटव्युरो सदस्य अक्कल रावलले पनि मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्