प्रदेश नं २ मा सरकार बनाउन जुटे मधेश केन्द्रित दल, यसरी गर्देछन् भागबण्डा 


 


सिवी अधिकारी
काठमाडौँ, १३
माघ तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् ।

प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् ।

मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरू बताउनुहुन्छ ।

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् ।

समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् ।

प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

“प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ,”– उहाँले भन्नुभयो ।

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ ।

निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो । कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ ।

समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ ।

कुन दलले के जिम्मेवारी लिने भन्ने पदीय भागबण्डापछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने समाजवादी फोरमका नेता शिवजी यादवले बताउनुभयो ।

उहाँका अनुसार सिट संख्याका आधारमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने लगभग पक्का छ, अन्य पदमा भने छलफल चलिरहेको छ ।

प्रदेश बैठकपछि सरकार गठनको प्रक्रिया शुरु हुने हुँदा सो अवधिसम्म दलीय भागबण्डा मिलिसक्ने उहाँको भनाइ छ ।

प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलको पल्लामा भारी मत रहेकाले उनीहरूको बहुमतको सरकार बन्ने निश्चित छ । सो प्रदेशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन ठूलो जिम्मेवारी मधेश केन्द्रित दलको काँधमा छ ।

यद्यपि, आफ्ना न्यूनतम साझा कार्यक्रममा सहमत हुने अन्य राजनीतिक दललाई सरकारमा सहकार्य गर्न आवश्यक पहल गरिने नेताहरूले बताएका छन् ।

राजपाका महासचिव सुमनका अनुसार राष्ट्रिय निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने निर्णय भएकाले उसँग सहकार्य हुनसक्ने छ ।

मधेशका मुद्दाप्रति वाम गठबन्धनले सहमत जनाएको खण्डमा उनीहरूसँग पनि सरकार गठनमा सहकार्य हुनेछ ।

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्