ओलीका सपना पुरा हुँदै, यसरी भयो हावाबाट विद्युत् उत्पादन


 


सिन्धुली, १३ माघ
सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो ।

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ ।

यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिनुभयो ।

नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

नेपाल सरकार तथा एसियाली विकास बंैकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ ।

बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुबै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उहाँको भनाइ छ ।

अहिलेसम्म कै नेपालमा पहिलो पटक वायु र सौर्य प्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उहाँले बताउनुभयो ।

हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबै भन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।

यसअघि मकवानपुर बागमति गाउँपालिका– ५ मा सबै भन्दा बढी क्षमताको भोर्लेनी वायु ऊर्जा प्रणालीबाट १५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको जिसस सिन्धुलीका वातावरणीय अधिकृत उपाध्यायले बताउनुभयो । सो परियोजनाबाट ८५ घरपरिवार लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्