वर्ष भरिनै ‘नेपाल महोत्सव’ हुँदै, यस्तो छ कारण


 


काठमाडौँ, माघ १३

नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ ।

यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहीद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहीदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ ।

विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेका सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सो महोत्सव गर्न लागिएको आयोजक समितिमा आबद्ध राजनीतिक विश्लेषक आनन्द आदित्यले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई विवादमा ल्याउने प्रयास भए पनि पछिल्लो समयमा सबैले एकीकरण अभियान व्यक्तिविशेषको नभई त्यसबेलाका अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्य बनेको बताउनुभयो ।

सोही दिन त्रिभुवन विश्वविद्यालयमा इतिहास र सम्पदासम्बन्धी कार्यशाला हुनेछ । महोत्सवका लागि डा विनोद भट्ट, शशि खड्का र सरोज खनाल रहेको सचिवालय बनेको छ, जसले साप नेपालमा रही काम गर्नेछ ।

प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल (जनसार्क) शाखाका अध्यक्षमण्डलका सदस्य दीनदया रिजालले आफ्नो संस्था शान्ति, एकता र वातावरणमैत्री रुपमा उक्त महोत्सव सफल बनाउन लागिपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्