मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि


 


बाग्लुङ, माघ ११
बाग्लुङमा हुने ४ नं प्रदेश स्तरीय मयेर कप फुटबल प्रतियोगिता २०७४ को तयारी तिब्र पारिएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ । नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ ।

प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सहभागिताको लागि ४ नं प्रदेशका २६ वटै नगरपालिकालाई पत्राचार गरिएको छ ।

प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अपेक्षा लिइएको छ ।

स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको विजेताले नगद पुरस्कार दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्