देउवा सरकारले गर्याे तीन करोड नेपालीलाई खुसी पार्ने निर्णय : ६५ वर्षमै भत्ता, भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान


 


काठमाडौं, माघ १०
सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ ।

सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ ।

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्