राष्ट्रियसभाका लागि ८३ जनाको उम्मेदवारी, १७ जना निर्विरोध निर्वाचित (हेर्नुहोस नामसहित)


 


काठमाडौं, माघ १०
राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांग समूहबाट १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ ।

राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।

यसैबीच मनोनयन दर्ता गरेकामा १७ जना निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा प्रदेश नं १ तर्फ तीन जना महिला सदस्य रहेका छन् ।

महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै प्रदेश नं २ मा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । यहाँ तीन जना महिला कोटामा निर्विरोध भएका हुन् भने दलित र अपांग अल्पसंख्यकमा एक एक जना निर्विारोध भएका हुन् ।

कांग्रेसबाट मुक्ताकुमारी यादव, फोरमबाट प्रमिला यादव, र माओवादीबाट शलीकला दाहाल निर्विारोध छानिएका हुन् ।

त्यस्तै फोरमका रामप्रीत पासवान र राजपका अपाङ्ग अल्पसंख्यकबाट बृषेशचन्द्र लाल पनि निर्विरोध भएका हुन् । ३ र ४ नम्बर प्रदेशमा भने सबै पदमा निर्वाचन हुने भएको छ ।

५ नम्बर प्रदेशबाट तीन जना महिला सदस्य निर्विरोध भएका छन् । एमालेबाट मीना बुढा र कोमल वली कांग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश ६ मा पनि सबै पदमा निर्वाचन हुने भएको छ । त्यस्तै प्रदेश ७ मा भने ६ जना निर्विरोध भएका छन् भने दुई पदमा मात्र निर्वाचन हुने भएको छ ।

यहाँ महिला सदस्य तर्फ एमालेका इन्दु कडेरिया विष्ट र कमला ओली निर्विरोध भएका छन् भने काग्रेसकी तारादेवी भट्ट पनि निर्विरोध भएकी छिन् ।

त्यस्तै खुल्लातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

यहाँ दलित र अल्पसंख्यक कोटामा मात्र निर्वाचन हुने भएको छ । निर्विरोध निर्वाचित भएकाहरुले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्