काठमाडौं महानगरका १६ ठाउँमा सिसी क्यामेरा जडान, थाहा पाउँनुहोस् कहाँ-कहाँ छन् ?


 


काठमाडौं, माघ १०
काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभएको हो । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो ।

कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ ।

सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताउनुभयो ।

एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि आजदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको उक्त वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिनुभयो ।

वडाध्यक्ष केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सिसी क्यामरा जडानपछि विशेषगरी रातिको समयमा घट्ने विभिन्न किसिमका चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने विश्वास वडा कार्यालयले लिएको छ ।

यस्ता घटनामा कमी आए अन्य स्थानमा पनि सिसी क्यामेरा जडान गरिने बताइएको छ । रासस

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्