राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता आज


 


 


काठमाडौं, माघ १०
यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गरिदै छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै बुधबार सात वटै प्रदेशका उम्मेद्वारलाई शान्तिपूर्ण ढंगले उम्मेद्वारी दर्ता गर्न आग्रह गरेको छ ।

२४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको ५६ सिट लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २१ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले उम्मेद्वारी दर्ताका लागि उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी एक हजार ५ सय ६ गरी २ हजार ५६ मतदाता रहेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् ।

 

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्