राष्ट्रियसभाको १४ सिट माओवादी केन्द्रमा ६ दर्जन बढी आकांक्षी


 


काठमाडौं, माघ ९
एमालेसँग चुनावी तालमेलका आधारमा राष्ट्रियसभाको १४ सिटमा उम्मेदवारी दिन लागेको माओवादी केन्द्रमा ६ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्।

पार्टी हेडक्वार्टरले सकभर सहमति, नभए बढीमा तीन जनाको नाम सिफारिस गर्न आग्रह गरे पनि कतिपय प्रदेश कमिटीले एउटै सिटका लागि १० जनासम्म नाम पठाएका छन्। आजको अन्नपूर्णमा खबर छ ।

सर्वसम्मत रूपमा कसैको पनि नाम सिफारिस नआएको माओवादीले जनाएको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी शीर्ष नेता र प्रदेश इन्चार्जको बैठकमा सातवटै प्रदेशका इन्चार्ज र संयोजकहरूले आफ्नो प्रदेशमा पार्टीको भागमा परेको सिटमा उम्मेदवार सिफारिस गरेको ६ नम्बर प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए।

माओवादीले प्रदेश १ मा महिला एक सिट, प्रदेश २ मा महिला एक सिट, प्रदेश तीनमा खुला एक र महिला एक सिट, प्रदेश ४ मा खुला एक र दलित एक सिट, प्रदेश ५ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट, प्रदेश ६ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट तथा प्रदेश ७ मा महिला एक र खुला एक सिटमा मात्र पार्टीका तर्फबाट उम्मेदवार उठाउँदै छ। अन्य सिटमा भने उसले एमाले उम्मेदवारलाई सहयोग गर्नेछ।

दुई पार्टीबीच कुल ५६ सिटमध्ये ४३ सिट जित्ने आकलनसहित एमाले(माओवादीले सिट भागबन्डा गरेका थिए।

प्रदेशले सिफारिस गरेका उम्मेदवारको नाम मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बसेर टुंगो लगाउनेछन्। राष्ट्रियसभा चुनावका लागि बुधबार दलहरूले मनोनयन दर्ता गर्नु पर्नेछ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्