नेपाली सेनाको हेलिकप्टर यसरी ठूलो दुर्घटनाबाट जोगियो


 


डोटी, माघ ८

नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।

डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो ।

उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराउनुभएको हो ।

आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो ।

त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।  समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझ भई आवश्यक मर्मत गरेर मात्रै उडान भर्ने जनाइएको छ ।

उता घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ । उनलाई मुडभाराबाट तत्कालै सडक मार्गबाट काठमाडौँ लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्