कुन प्रदेशमा कसको सरकार, को–को बन्दैछन् मुख्यमन्त्री ? यस्तो छ अंकगणित


 


काठमाडौं, माघ ८
प्रदेश प्रमुख नियुक्त भएसँगै प्रदेश सांसदहरुले आइतबार शपथ लिएका छन् । यो प्रक्रियासँगै अब दलहरुको ध्यान प्रदेशसभाको सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ ।

राष्ट्रियसभाको चुनाव यही माघ २४ गते तय भइसकेको छ । राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले पाउने संविधानमा व्यवस्था ८ जनाका दरले ५६ जना र सरकारको सिफारिसमा ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रियसभाका लागि दुई हजार ५६ जना मतदाता रहेका छन् । जसमा पाँच सय ५० जना प्रदेश सांसद र सात सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार पाँच सय छ जना रहेका छन् ।

सम्भवतः प्रदेश सरकार फागुन पहिलो हप्ताभित्र बनिसक्नेछ । सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ भने २ नम्बर प्रदेशमा मधेशवादी दलले सरकार बनाउने छन् ।

यसरी हेर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सरकार विहिन हुने अवस्था छ । १ र ३ नम्बरमा एमालेको एकल बहुमत छ भने ६ नम्बर प्रदेशमा एमालेले ५० प्रतिशतको हिस्सा ओगटेको छ ।

कुन प्रदेशमा कसको सरकार, को मुख्यमन्त्री ?
प्रदेश नं १

यहाँ एमालेको एकल बहुमत छ । एमालेबाट ५१ जना सांसद छन् । कुल ९३ सांसद सदस्य रहेको यो प्रदेशमा कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपा, स्वतन्त्र गरी ३ जना सांसद छन् ।

यहाँ एमालेले मुख्यमन्त्री पाउनेछ । एमालेबाट शेरधन राई मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रदेश २

यहाँ संघीय समाजवादी फोरम र राजपाको सरकार बन्ने सम्भावना बलियो छ । यो प्रदेशमा फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादीका ११ सासद छन् ।

प्रदेश ३

प्रदेश नं ३ मा एमालेको बहुमत छ । यहाँ एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशिल साझाका ३, नेमकिपाका २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एक एक सांसद छन् ।

यहाँ पनि एमालेले मुख्यमन्त्री पाउने पक्कापक्की जस्तै छ । यो प्रदेशमा एमालेबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रदेश ४

यहाँ पनि वाम गठबन्धनको सरकार बन्ने निश्चित छ । यो प्रदेशमा एमालेबाट २७, काग्रेसबाट १५, माओवादीबाट १२, राजमोबाट ३, नयाँ शक्तिका २ र स्वतन्त्रबाट एक सांसद छन् । यहाँ पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्यृ एक जना एमालेबाट मुख्यमन्त्री बन्दैछन् ।

प्रदेश ५

प्रदेश ५ मा पनि वाम गठबन्धनको सरकार बन्दैछ । यहाँ एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री बन्ने भएका छन् । उनि एमाले संसदीय दलको नेतामा चयन भइसकेका छन् ।

यहाँ एमालेका ४१, माओवादीका २०, कांग्रेसबाट १९, फोरमका ५ तथा राजमो र राजपाका एक एक सांसद छन् ।

प्रदेश ६

यहाँ पनि वाम गठबन्धनकै सरकार बन्दैछ । तर कुन पार्टीले मुख्यमन्त्री पाउने भन्नेबारे समस्या छ । यहाँ एमालेका ५० प्रतिशत सांसद छन् ।

यो प्रदेशमा माओवादीले समेत मुख्यमन्त्रीमा दाबी गरेपछि समस्या आएको हो । यहाँ एमालेका २०, माओवादीका १३, काग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

यहाँ एमालेबाट यमलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीको दौडमा छन् भने माओवादीले यो प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना अधिक रहेको बताइन्छ ।

प्रदेश ७

यो प्रदेशमा पनि अरु प्रदेश झै वाम गठबन्धनकै सरकार बन्दैछ । यहाँ मुख्यमन्त्री माओवादीले पाउने सम्भावना छ । यहाँ एमालेका २, माओवादीका १४, काग्रेसका १२, र राजपाका २ जना सांसद छन् ।

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्