सांसद उमादेवी बादीसामु पोखिए पीडा, ‘मागेको धोतीले आङ् छोपिएन’


 


अंकुश कुँवर

धनगढी, माघ ७
‘हातभरी बाला हाल्यो राउत्या धामीले, कमाई खान्या जमिन छैन क्या खान्या हामीले ?’ यही गीत मार्फत आइतबार सांसद उमादेवी बादीसामू आफ्ना पीडा पोखिन डोटी जोरायलकी कटैनीदेवी बादीले । विगतमा यस्तै, पीडा भोगेकी बादी समुदायबाट प्रदेश सांसद बनेकी उमादेवी बादीलाई उनले यो मर्मस्पर्षी गीत सुनाइन् ।

उनको यो गीतले बादी समुदायले भोग्दै आएका समस्यालाई झल्काएको थियो । उनले बादी समुदाय आफ्नो जमिन नै नभएर भोकै बस्न बाध्य भइरहेको कुरा गीत मार्फत नै भनिन् । जसलाई सहजै बुझ्न सक्छिन् सांसद उमादेवी बादी ।

मागेको धोतीले आङ नछोपिने र मागेको मुठीले पेट नभरिने सुनाउँदै कटैनीले अब बादी समुदायलाई बैकल्पिक व्यवस्थाको खाँचो रहेको बताइन् । उनी मात्रै होइन, उनीजस्तै दर्जनौं बादी महिलाहरुले उमादेवी बादीका अगाडि हातै जोडेर आफ्ना दुखेसो पोखे ।

प्रदेश सांसदले सपथग्रहण गर्ने मौका छोप्दै बादी महिलाहरुले आइतबार धनगढीस्थित प्रदेशसभा भवन अगाडि सांसद उमादेवी बादीलाई आफ्नो पीडा सुनाउन भ्याएका हु्न् ।

नेपाली कांग्रेसको तर्फबाट दलित समुदायको प्रतिनिधित्व गर्दै समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी उमादेवी बादीलाई महिलाहरुले आफ्नो पीडा सुनाउँदै संसदमा गएर अब बादी समुदायको उत्थानका लागि आवाज उठाउन अनुनय विनय गरे ।

अब मागेर खान सक्ने स्थिति नरहेकाले बादी समुदायका महिलाहरुले आफूहरुको पुनस्थापनासंगै उत्थानका लागि लाग्न हात जोडेरै अनुरोध गरे । आफ्नो प्रतिनिधि पाएको भन्दै खुशी भएका बादी महिलाहरुले मन भरीको पीडा र समस्यालाई सोही अवसरमा खोले । उनीहरुले अब मागेर खाने अवस्थाको सृजना नहुने आशा व्यक्त गरेका छन् ।

मागेर मात्रै खाएर जीवन नचल्ने भएकाले बादी समुदायको उत्थानका लागि केही गरिदिन भन्दै महिलाहरुले उमादेवी बादीसामु आग्रह गरे । बादी समुदाय र विशेष गरी त्यस समुदायका महिलाहरुको पीडा सुनिसकेपछि भावुक बनेकी सांसद उमादेवी बादीले अब बादी समुदायको अधिकारका लागि सदनबाट आवाज उठाउने बताइन् ।

यसअघि अधिकारका लागि सडकबाट लडेको स्मरण गराउँदै उमादेवीले अब सदनमा गएर बादी समुदायसंगै उत्पीडनमा परेका अन्य समुदायका लागि पनि लड्ने प्रतिबद्धता जनाइन् ।

यसअघि २०६४ सालमा बादी समुदायका महिलाहरुको अधिकारका लागि गरिएको आन्दोलनको नेतृत्वकर्ता उमादेवीमाथि बादी समुदायका महिलाहरुले ठूलो आशा र अपेक्षा गरेका छन् । यसअघिको बादी महिलाहरुको आन्दोलनकै कारण सरकारले बादी महिलाहरुलाई यौन शोषणमुक्त र पुस्थापना गर्ने घोषणा गरेको थियो ।

तर, अहिले पनि बादी महिलाहरुको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । अझै पनि बादी समुदायका मानिसहरु मागेरै आफ्नो गुजारा चलाईरहेका छन् । कतिपयले त अझै पनि देह व्यापार गरेर भएपनि घर परिवारको पालन पोषण गर्नुपरेको अथार्त हामीसामू छ ।

यसै कारण पनि बादी समुदायका महिलाहरुले आफनै समुदायकै प्रतिनिधि पाएपछि उमादेवीलाई फेरि एक पटक बादी महिलाहरुको अधिकारीका लागि लड्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्