पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी


 


ललितपुर, माघ ७
पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । आगन्तुकलाई दोहोर्याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो ।

सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो ।

अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ । उहाँले भन्नुभयो, “कहिले पौभा, कहिले वेशभूषा त कहिले यस्तै केही एउटामा केन्द्रित प्रदर्शनी हुनेछ ।”

विभिन्न उमेर, पेशा र रुचिका आगन्तुकलाई केन्द्रित गरेर प्रदर्शनी गरिने सङ्ग्रहालयको योजना छ । यसबाट आगन्तुकले एकैखालका विषयमा ज्ञान पाउने प्रमुख लाखे बताउनुहुन्छ ।

नेपालीलाई सङ्ग्रहालय जाने बानी बसाल्न र एक पटक आएकाहरुलाई दोहोर्याउनका लागि कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रदर्शनी हुने सुन्दरीचोक नै ज्ञानका हिसाबले आगन्तुकका लागि महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म बन्द यो चोकबाट नै आगन्तुकले धेरै कुरा भेट्नुहुनेछ ।”

सङ्ग्रहालयले सुन्दरी चोकका भुइँमा माटाले लिपेर पुरानै स्वरुप दिएको छ । यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढिरहेको सङ्ग्रहालयले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्