ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग
पोखरा, माघ ७
ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।
पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा) का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।
हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।
एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ ।
प्रकाशित मिति: ७ माघ २०७४, आइतबार